नेपालको संविधानले अनुसूची-४ को व्यवस्था तथा संघीय शासन प्रणालीको कार्यान्वयनका लागि नेपालको राजनीतिक विभाजनका क्रममा साविकको नवलपरासी जिल्लालाई दाउन्ने डाँडालाई आधार मानी दुई जिल्लामा टुक्राउँदा दाउन्ने पश्चिम रहेको यस जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को रुपमा लुम्बिनी प्रदेश अन्तर्गत रहेको छ। जिल्ला विभाजन पश्चात साविकको जिल्ला वन कार्यालय, नवलपरासी रहेको साविकको कार्यालय भवनबाटै हाल कार्यालय सञ्चालन भैरहेको छ। यस जिल्लाको पूर्वमा नवलपूर जिल्ला, पश्चिममा रुपन्देही जिल्ला, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश रहेको छ। यस जिल्लाका रामग्राम नगरपालिका, सुनवल नगरपालिका र बर्दघाट नगरपालिका गरी तीन नगरपालिका तथा पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरी ४ गाउँपालिका गरी जम्मा ७ वटा स्थानीय तह रहेका छन्। नवलपरासी जिल्लामा अवस्थित वन क्षेत्र तथा वन सम्पदाको संरक्षण, संवर्द्धन तथा उपयोग गर्ने गरी नेपाल सरकारको मिति 2075/03/32 को निर्णय तथा स्वीकृत सांगठनिक संरचना अनुसार मिति 2075/04/29 मा यस डिभिजन वन कार्यालय, नवलपरासी(ब.सु.प.) स्थापना भई सञ्चालनमा आएको छ। यस डिभिजन वन कार्यालय अन्तर्गत रामग्राम पाल्हीन्नदन सब-डिभिजन वन कार्यालय, सुनवल सब-डिभिजन वन कार्यालय, बर्दघाट सरावल सब-डिभिजन वन कार्यालय र प्रतापपुर सुस्ता सब-डिभिजन वन कार्यालय गरी चार वटा सब-डिभिजन वन कार्यालय तथा सशस्त्र वन सुरक्षा शाखा, बडेर क्याम्प र सशस्त्र वन सुरक्षा शाखा परासी गरी २ वटा सशस्त्र वन सुरक्षा शाखा समेत रहेका छन्।